दाङ, असार ३२ । दाङ जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार मसान्तसम्म ३६० वटा सवारी दुर्घटना भएका छन्, जसमा ८१ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार ती दुर्घटनामध्ये अधिकांशको कारण तीव्र गति र चालकको लापरवाही रहेको छ।

दुर्घटनामा दुई सय ५० जना गम्भीर घाइते र तीन सय ४१ जना सामान्य घाइते भएका छन्। अघिल्लो वर्ष ०८०/०८१ मा दुई सय तीन दुर्घटनामा ९८ जनाको ज्यान गएको थियो भने २३८ जना गम्भीर र ११४ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष ०७९/०८० मा १४८ दुर्घटनामा ५४ जनाको मृत्यु, १४१ गम्भीर र १०८ जना सामान्य घाइते भएका थिए।

ट्राफिक प्रहरीको विश्लेषण अनुसार चालु आर्थिक वर्षमा भएका ३६० दुर्घटनामध्ये २४५ वटा तीव्र गतिका कारण, ६४ वटा मापसे (मादक पदार्थ सेवन), २९ वटा यात्रुको लापरवाही, सात/सात वटा सवारीसाधनको यान्त्रिक गडबडी र ओभरलोड, दुई वटा सडकको अवस्था र एउटा मौसमको कारणबाट भएको देखिएको छ। बमका अनुसार जिल्लामा सवारीसाधनको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ तर त्यसको तुलनामा सडक पूर्वाधारमा सुधार नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ।

ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ। यस अवधिमा ९५५ जना मापसे चालक, १२८९ वटा ओभरलोड सवारीसाधन, ३२१ वटा टिप्पर, र २२५ वटा लापरवाहीपूर्वक सवारी चलाउने चालकमाथि कारबाही गरिएको छ।

त्यस्तै ध्वनि प्रदूषण नियन्त्रणका लागि ९२ वटा मोटरसाइकलको साइलेन्सर परिवर्तन गराई कानुनी कारबाही गरिएको छ भने ५ वटा सवारीसाधनलाई थप अनुसन्धानका लागि यातायात व्यवस्था कार्यालय तुलसीपुर पठाइएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी कार्यालयले ५० थान लागूऔषध परीक्षण किट प्राप्त गरी प्रयोग थालेको समेत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस