घाेराही, साउन १, घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा एक महिने श्री शिव महापुराण तथा श्रृङ्गारिक महाआरती विधिवत रूपमा शुभारम्भ गरिएको छ। सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय परिसर र शिव–पार्वती तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तरोन्नतिको उद्देश्यसहित आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले (अाज) बिहीबार एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्नुभयो।

कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीले गर्नुभएको थियो। प्रमुख अतिथि डिसीले धार्मिक क्रियाकलापमार्फत पार्क व्यवस्थापन गर्ने समितिको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले धार्मिक जागरणमार्फत मानवता र सामाजिक सेवामा लाग्नुपर्ने सन्देश कार्यक्रमले दिएको बताउनुभयो। एक महिनासम्म चल्ने यस धार्मिक कार्यक्रमार्फत राज्यलाई पनि अपूरा काम पूरा गर्न सकारात्मक सन्देश पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

गाउँ–समुदायमै आयोजित यस्ता पुण्य कार्यमा सबैले सहकार्य गर्न सके राम्रो हुने भन्दै उपप्रमुख डिसीले आफू पनि सहयोग गर्ने बताउनुभयो। गुलरिया पार्कलाई व्यवस्थित बनाउनु सबैको साझा जिम्मेवारी भएकाले कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

वडा नम्बर १७ का अध्यक्ष रामलौटन चौधरीले धार्मिक चेतना फैलाउने र स्थानीय विकासमा टेवा पुर्याउने उद्देश्यका साथ महापुराण सञ्चालन गरिएको जानकारी दिनुभयो। प्रमुख कथावाचक पण्डित आचार्य श्यामशरणले दैनिक नित्यकर्म, अनुष्ठान र धार्मिक गतिविधिहरूको विस्तृत जानकारी गराउनुभयो।

उहाँका अनुसार हरेक दिन बिहान साढे ४ बजे योगसाधनाबाट कार्यक्रम सुरु भई रुद्री, रुद्राभिषेक, चौरासी पूजा, गृहपूजा, जन्मदिन, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूड़ाकर्मजस्ता अनुष्ठान सम्पन्न गरिनेछ। बिहान १० बजे प्रसादी, दिउँसो १२ बजे शिवकथा, झाँकी, भजन–कीर्तन र साँझ ७ बजे महाआरती हुनेछ। हरेक सोमबार १०८८ बेलपत्र चढाएर विशेष मेला आयोजना गरिने बताउनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सबैको सहभागिताले सामाजिक काम सफल हुने बताउँदै, समितिले अघि सारेको लक्ष्य पूरा गर्न शिवमहापुराण तथा श्रृङ्गारिक महाआरती उपयोगी माध्यम बन्ने धारणा व्यक्त गर्नुभयो।

नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले पूर्वीय दर्शनलाई विज्ञानसम्मत रूपमा प्रयोग गर्दै धार्मिक जागरणबाट सामाजिक अभियान सफल बनाउन आग्रह गर्नुभयो। धार्मिक कार्यक्रमबाट बचेको रकम मन्दिर परिसरको सौन्दर्यकरण, संग्रहालय स्तरोन्नति, पदमार्ग निर्माण, विश्राम गृह, बत्ती र पानी व्यवस्थापनजस्ता पूर्वाधार विकासमा खर्च गरिने जनाइएको छ।

कार्यक्रम प्रारम्भअघि बिहान १० बजे विभिन्न टोल विकास संस्था र विद्यालयहरूको सहभागितामा बाजागाजासहित भव्य कलशयात्रा निकालिएको थियो। कलशयात्रा गुलरिया पार्कबाट सुरु भई तुलसीपुरचोक, दामोदरचोक, शहिदगेट, जिल्ला प्रशासन कार्यालय हुँदै कार्यक्रम स्थलमा समापन भएको थियो।

शिवपुराण तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समितिका सह–संयोजक बेचन वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजीकरण सचिवद्वय दीपक वली र कमल वलीले गर्नुभएको थियो। साउन ३१ गतेसम्म चल्ने धार्मिक कार्यक्रमका अवसरमा शिव महिमा, प्रवचन, भजन–कीर्तन तथा आरतीमा सहभागी हुन आयोजकले भक्तजनहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस