दाङ, साउन ४ । लुम्बिनी प्रदेशले देशभर संकलन हुने जीवन बीमा शुल्कमा औसत १५ प्रतिशतको हाराहारीमा हिस्सा ओगट्दै आएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार विगत चार आर्थिक वर्षदेखि लुम्बिनीको योगदान स्थिर देखिएको हो।
सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनीको हिस्सा १५.१ प्रतिशत थियो भने २०७९/०८० मा १४.९ प्रतिशतमा झरेको थियो। यस्तै, २०८०/०८१ मा १५.६ प्रतिशत पुगेको जीवन बीमा शुल्कमा प्रदेशको हिस्सा चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म पनि १५.६ प्रतिशतकै दरमा कायम रहेको उल्लेख गरिएको छ।
निर्जीवन बीमा (जस्तै: आगलागी, दुर्घटना, स्वास्थ्य बीमा आदि) शुल्क संकलनतर्फ पनि लुम्बिनीको योगदान उल्लेख्य छ।
२०७८/०७९ मा तीन अर्ब १४ करोड ८५ लाख रुपैयाँ, २०७९/०८० मा तीन अर्ब ५१ करोड ७३ लाख, २०८०/०८१ मा तीन अर्ब ६५ करोड २९ लाख र चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई अर्ब ८५ करोड ६९ लाख रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ।
देशभरको निर्जीवन बीमा शुल्कमा लुम्बिनी प्रदेशको हिस्सा औसत आठ प्रतिशतको हाराहारीमा रहेको छ।
२०७८/०७९ मा यो हिस्सा आठ प्रतिशत थियो भने २०७९/०८० र २०८०/०८१ दुबै वर्षमा आठ दशमलव आठ प्रतिशत पुगेको थियो। २०८१/०८२ को चैत मसान्तसम्मको तथ्यांकअनुसार, निर्जीवन बीमा शुल्कमा लुम्बिनीको हिस्सा आठ दशमलव सात प्रतिशत रहेको छ।












