दाङ, साउन ७ । नेवार सेवा समिति घोराही र नेवा मिसा दबु दाङको अगुवाइमा बुधबार घोराहीमा नेवार समुदायको विशेष पर्व गाठे मंगल धुमधामका साथ मनाइएको छ। सो अवसरमा लाखे नाँच पनि सुरु गरिएको छ। घोराही–१४ स्थित गणेश मन्दिर अगाडिको सडकमा नेवारी विधिअनुसार पूजा–आजा गरी गाठे मंगल मनाइयो र त्यससँगै लाखे नाँचको सुरुवात गरिएको हो।

नेवार सेवा समिति घोराही र नेवा मिसा दबु दाङले यस वर्षका सम्पूर्ण पर्व तथा जात्राहरूलाई विशेष रूपमा मनाउने तयारी गरेका छन्। नेवार संस्कार, संस्कृति र कलाको संरक्षणमा निरन्तर लागिरहेको यी संस्थाहरूले मनाउन लागेका पर्व र जात्राहरूमा सहभागिता जनाउन सबैमा अनुरोध गरेका छन्। समितिका अध्यक्ष विमलमान श्रेष्ठ र सचिव विवेक श्रेष्ठले नेवार समुदायका साथै अन्य समुदायका सबैलाई पर्व र जात्रामा सहकार्य र सहभागिता जनाउन आह्वान गरेका छन्। त्यस्तै, नेवार महिलाहरूलाई विभिन्न गतिविधिमा सक्रिय रूपमा संलग्न गराउँदै आएको नेवा दबुका अध्यक्ष रेणु श्रेष्ठ र सचिव रजनी श्रेष्ठले पनि महिलाहरूलाई पर्व–जात्रामा सक्रियता जनाउन आग्रह गरेका छन्।

गाँठे मंगल र लाखे नाँचको सुरुवातका अवसरमा घोराहीका विभिन्न समुदायका विशिष्ट व्यक्तिहरूको गणेश मन्दिरअगाडि उपस्थिति थियो। नेवार सेवा समितिका पूर्व अध्यक्ष तथा शिक्षाविद् राजेन्द्रप्रसाद श्रेष्ठले लाखे नाँच प्रारम्भ गर्न ढोल बजाएका थिए।

कार्यक्रममा समितिका उपाध्यक्ष मंगला श्रेष्ठ, नेवा दबुका पूर्व अध्यक्ष भवानी श्रेष्ठ, पूर्व सदस्य लक्ष्मी श्रेष्ठ, समिति सदस्य गंगालक्ष्मी श्रेष्ठ लगायतको विशेष सहभागिता थियो। सडकमै विशेष पूजा गरेर गाठे मंगल मनाइएको थियो। त्यस्तै, कार्यक्रममा नेवार सेवा समितिका पूर्व केन्द्रीय उपाध्यक्ष दीपक श्रेष्ठ, लाखे नाँच तथा जात्राका संयोजक शिव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लेखराज श्रेष्ठ, पूर्व अध्यक्ष सदर्शन श्रेष्ठ, कोषाध्यक्ष पशुपति श्रेष्ठ लगायतको उपस्थिति थियो।

हालका दिनमा घोराहीमा नेवार समुदायले चाडपर्व तथा सामाजिक कार्यहरूमा विशेष सक्रियता देखाउँदै आएको छ। यस्तै, नेवार सेवा समिति तुलसीपुरले पनि तुलसीपुरमा गाठे मंगलको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस