दाङ, साउन ७ । रुकुम पूर्वको भूमे गाउँपालिका–५, भल्लेबाङस्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीया रामकुमारी सुनारका दुई सन्तानको विषालु च्याउ सेवनबाट मृत्यु भएको छ। घटना गत साउन २ गतेको हो।
रामकुमारी सुनार केही समयदेखि माइतीघरमै छोराछोरीसहित बस्दै आएकी थिइन्। श्रीमान्सँग खटपट भएपछि उनी रुकुम पश्चिमको आफ्नो घर छोडेर माइती गएकी थिइन्। बर्खाको मौसम, जंगल नजिकै र च्याउको सिजन भएकाले उनले शुक्रबार दिउँसो आफ्ना तीन छोराछोरीसहित जंगलमा च्याउ टिप्न गएकी थिइन्। टिपिएको च्याउ ल्याएर साँझ पकाइ सबैले खाएका थिय।
च्याउ सेवनपछिको रातदेखि नै आमा रामकुमारीसहित ९ वर्षीया छोरी आयुषा, ७ वर्षीया छोरी भाग्यरेखा र ३ वर्षीय छोरा योजन विकमा विषालु असर देखिन थाल्यो। उनीहरूलाई बान्ता र पखाला लाग्न थाल्यो। सुरुमा सामान्य ठानिए पनि अवस्था जटिल बन्दै गयो।
आइतबार रामकुमारी सामुदायिक स्वास्थ्य इकाई पुगेर औषधि लिएर फर्किइन्। तर पखाला नरोकेपछि सोमबार फेरि बच्चाहरूलाई लिएर स्वास्थ्य इकाई पुगिन्। अवस्था गम्भीर भएपछि उनीहरूलाई रुकुमकोट अस्पताल रिफर गरियो। त्यहाँ पनि सुधार नआएपछि दाङ लैजाने तयारी गरियो।
तर बाटोमै योजनको अवस्था बिग्रिएपछि उनलाई सल्यान अस्पतालमा भर्ना गरियो। उपचारका क्रममा मंगलबार दिउँसो ३ बजे योजनको मृत्यु भयो। उता भाग्यरेखाको पनि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार राति ११ बजे मृत्यु भयो।
बालबालिकाकी आमा रामकुमारीको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभयो।
९ वर्षीया आयुषाको भने बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी उमाशंकर प्रसाद यादवले बताउनु भयाे । पीडित परिवार नजिकैको स्वास्थ्य इकाईबाट करिब १०–१५ मिनेटको दूरीमा भए पनि समयमा अस्पताल नगएकाले मानवीय क्षति भएको भूमे गाउँपालिका–५ का वडाध्यक्ष टेकप्रसाद बुढाले बताउनु भयाे ।
“पहिला पनि च्याउ खाएर मान्छेहरू अलिअलि बिरामी पर्थे तर यसरी कोही मरेका थिएनन्। समयमा अस्पताल लगिएको भए यति ठूलो क्षति हुने थिएन,” वडाध्यक्ष बुढाले दुःख व्यक्त गर्नुभयो।












