दाङ, साउन ९ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले पदबाट राजीनामा दिनु भएकाे छ । अधिकारीले अस्पतालभित्र सहज वातावरण नहुँदा जिम्मेवारी छोड्नुपरेको स्पष्ट पार्नु भयाे । उहाँका अनुसार दुई वर्षदेखि मेसुको जिम्मेवारी सम्हाल्दै आएका उहाँले, अरूलाई पनि अवसर दिनुपर्ने र काम गर्ने वातावरण नहुँदा पदमा बस्नु उचित नठानेकाे बताउनु भयाे ।

अस्पताल परिसरमा रहेका १५ भन्दा बढी सटरको विवादले वातावरण थप जटिल बनेको छ। यी सटरको सम्झौता असार मसान्तमै सकिएको थियो। अस्पताल विकास समितिले नयाँ टेन्डर प्रक्रिया सुरु गर्ने निर्णय गरे पनि कार्यान्वयनमा अवरोध आएको थियो। समितिका अध्यक्ष महेन्द्र लामिछाने आएपछि पनि यो निर्णय दोहोरिए तर, बारम्बार अवरोध आइरहेकाले डा. अधिकारीले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिनुभएकाे हाे।

स्रोतका अनुसार, कसैले पुराना भाडामा रहेका व्यापारीसँगै सम्झौता नवीकरण गर्ने प्रयास गर्दा डा. अधिकारीले त्यसलाई अस्वीकार गर्दै पदबाट हट्ने निर्णय गर्नु भएकाे हाे ।

अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेले सटर र टेन्डरको मुद्दा पेचिलो बनेकाले राजीनामा दिनुपर्ने अवस्था आएको हुनसक्ने बताउनु भयाे । उहाँका अनुसार, “निर्णय भइसकेको विषयमा पछि हट्न गाह्रो भयो, अगाडि बढ्दा अवरोध पनि धेरै देखियो,” उहाँले बताउनु भयाे ।

अहिले साझालाई हटाउने विषयमा पनि विवाद छ। तत्काल हटाउँदा औषधि आपूर्ति प्रभावित हुने भएकाले सजिलो छैन। न्यौपानेले भविष्यमा सटर हटाएर पर्खाल बनाउने र अस्पतालले आफैं प्रयोग गर्ने योजना पनि बनाइरहेको बताउनु भयाे ।

डा. अधिकारीले आफ्नो राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयमार्फत स्वास्थ्य सचिवलाई बुझाउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस