रुकुमपूर्व, ९ साउन। गत आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्व जिल्लाबाट करिब ५९ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता गरिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त चालु तथा पुँजीगत बजेटमध्ये ५८ करोड ८७ लाख ६ हजार ८३० रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको हो। यसअघि २०८०/०८१ मा ३८ करोड रुपैयाँ बजेट फिर्ता भएको थियो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीयतुलनामा प्रदेश सरकारको बजेट बढी खर्च हुन नसकेर फिर्ता भएको हो। प्रदेश सरकारबाट चालु र पुँजीगत शीर्षकमा ९२ करोड १४ लाख ७८ हजार रुपैयाँ प्राप्त भए पनि ५५ करोड ८ लाख २३ हजार ३९७ रुपैयाँ मात्र खर्च हुँदा बाँकी ३७ करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ खर्च हुन सकेन। यसरी प्रदेशबाट प्राप्त कुल बजेटको ५९.८ प्रतिशत मात्रै खर्च भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने ८०.६२ प्रतिशत बजेट खर्च भएको थियो।

संघीय सरकारतर्फबाट भने चालु र पुँजीगत गरी २ अर्ब १५ करोड १२ लाख ४२ हजार ५६० रुपैयाँ आएकोमा ८९.९ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३१ लाख ९० हजार ३३३ रुपैयाँ खर्च भएको छ। बाँकी २१ करोड ८० लाख ५२ हजार २२७ रुपैयाँ खर्च नभएको लेखा नियन्त्रक हिरामणि गौतमले बताए।

त्यसैगरी, गत वर्ष संघीयतर्फका कार्यालयबाट २ करोड ५ लाख ६२ हजार ८७३ रुपैयाँ राजस्व संकलन भएको थियो भने प्रदेशतर्फका कार्यालयबाट ७९ लाख ९४ हजार ८७६ रुपैयाँ राजस्व संकलन भएको गौतमले जानकारी दिए। यसरी संघीय र प्रदेश दुबै स्रोतबाट जम्मा २ करोड ८५ लाख ५७ हजार ७५० रुपैयाँ राजस्व संकलन भएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस