घाेराही, असार ११ । घाेराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नगरस्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम भव्य रुपमा आयोजना गरेको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डीसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, महाशाखा र शाखा प्रमुखहरू, वडा सचिवहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख चौधरीले नगरको समग्र विकासका लागि प्रत्येक विभाग र वडाले प्रस्तुत गरेका प्रगति प्रतिवेदन महत्त्वपूर्ण मार्गनिर्देशक हुने बताउँदै आगामी वर्षका लागि योजनाबद्ध तरिकाले अघि बढ्न सबैलाई आग्रह गर्नुभयाे। नगर उपप्रमुख डीसीले पनि नगरस्तरीय योजनामा वडाहरूको सक्रिय भूमिका र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयाे।

समीक्षा कार्यक्रममा विभिन्न महाशाखा, शाखा र वडाहरूले विगत एक वर्षमा सम्पन्न गरेका योजनाहरू, विकास निर्माणका कार्य, बजेट कार्यान्वयनको अवस्था तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए। यस क्रममा नगरका विविध क्षेत्रको प्रगति तथा देखिएका चुनौतीबारे गहन छलफल र सुझाव संकलन गरिएको थियो।

सूचना प्रविधि तथा सञ्चार शाखाको विशेष पहलमा आयोजना गरिएको यो कार्यक्रम साउन १२ गतेसम्म निरन्तर चल्नेछ। कार्यक्रममार्फत आगामी आर्थिक वर्षका लागि प्रभावकारी नीति, योजना र बजेट कार्यान्वयनका उपायहरू पहिचान गर्ने उद्देश्य राखिएको उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस