दाङ,  साउन १२ । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरीयामा रहेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय तथा शिव–पार्वती र राधा–कृष्ण मन्दिर परिसरको भौतिक स्तरोन्नतिको उद्देश्यसहित सञ्चालनमा आएको शिवमहापुराण तथा श्रृङ्गारिक महाआरति २०८२ कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहदै अाएकाे देखिएको छ।

श्रावण १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो मासिक धार्मिक कार्यक्रममा आज दोस्रो सोमबारको अवसरमा बिहानैदेखि दर्शन, पूजाअर्चना र कथा श्रवण गर्न भक्तजनहरूको बाक्लो भिड लागेको थियो। श्रद्धा र भक्ति भावनाले भरिएको वातावरणले गुलरीया क्षेत्रलाई पूर्णतः धार्मिक रंगमा रंगाएको देखिन्थ्यो।

कार्यक्रमले धार्मिक आस्था मात्र होइन, सामाजिक उत्तरदायित्व र सहकार्यको भावना पनि उजागर गरेको छ। कार्यक्रमलाई थप प्रभावकारी र सार्थक बनाउन विभिन्न व्यक्ति, धार्मिक संस्था तथा समाजसेवीहरूबाट नगद र जिन्सी दानहरू प्राप्त भइरहेका छन्। संकलित दान पारदर्शी रूपमा व्यवस्थापन गरिने जानकारी आयोजक समितिका कोषाध्यक्ष दीप बहादुर खत्रीले दिनुभयो।

कार्यक्रमअन्तर्गत हरेक दिन शिवमहापुराण वाचन, श्रृङ्गारिक महाआरति, धार्मिक प्रवचन, भजन–कीर्तन र सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन भइरहेका छन्। सहभागीहरूको भनाइ अनुसार, यस्ता कार्यक्रमहरूले धार्मिक चेतना, नैतिक मूल्य र सांस्कृतिक जागरणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

स्थानीय समुदाय, युवा क्लब, महिला समूह तथा धार्मिक संघसंस्थाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सामूहिक पहिचान र उद्देश्यतर्फ अघि बढाएको छ। सांस्कृतिक समृद्धिलाई आधार बनाउँदै पार्क परिसरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको र यस कार्यक्रम त्यसको सशक्त आधारशिला बन्ने आयोजकहरूको विश्वास छ।

कार्यक्रममा सुप्रसिद्ध कथा वाचक पं. आचार्य श्यामशरण मुख्य वाचकको रूपमा उपस्थित रहनुभएको छ। गुलरीयाको मन्दिर परिसरमा जारी शिवमहापुराण तथा श्रृङ्गारिक महाआरति २०८२ कार्यक्रमले समृद्ध पार्क निर्माणको अभियानलाई समुदायस्तरमै गम्भीरतापूर्वक अघि बढाएको आयोजक समितिको निष्कर्ष छ।

कार्यक्रममा दाङका विभिन्न ठाउँहरूका साथै छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरूको उपस्थिति दिनप्रतिदिन बढ्दो छ। बाँकी दिनहरूमा सहभागिता अझ बढ्ने विश्वासका साथ आयोजकले सबै भक्तजनलाई सहभागिताका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस