दाङ, साउन । १२ दाङमा सर्पको टोकाइबाट एक जना विद्यालय प्रधानाध्यापकको ज्यान गएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका छन्। उहाँ शङ्कर माध्यमिक विद्यालय, खरदरियाका प्रधानाध्यापक समेत हुनुहुन्थ्यो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई आज बिहान घरभित्रै सर्पले टोकेको थियो। तत्कालै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारकै क्रममा उहाँको निधन भएको हो। हाल गर्मी बढेसँगै तराई तथा मध्यपहाडी क्षेत्रहरूमा सर्पदंशका घटनाहरू बढिरहेका छन्। गर्मीमा सर्पहरू शीतल स्थान र आहाराको खोजीमा घरभित्र पस्ने सम्भावना बढी हुने सर्प विशेषज्ञहरू बताउँछन्।
सर्पको जोखिम न्यूनीकरणका लागि घरमा झ्यालमा जाली लगाउने, सुत्नुअघि ओछ्यानमा सर्प छ कि छैन भनेर जाँच गर्ने, झुल लगाएर सुत्ने र सर्प लुक्ने सम्भावित स्थानहरूको निगरानी गर्न विज्ञहरूले सुझाव दिएका छन्।












