दाङ, साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा रहेका उर्मिला हायूसहित १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएका छन् । एकान्तमा रहेको घरमा छिमेकी पुग्दा कोही पनि नभेटिएपछि आज प्रहरीसहितको टोली पुग्दा कोही पनि नभेटिएको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभएको छ ।

सम्पर्कविहीन रहनेमा ५२ वर्षीया उर्मिलासँगै उहाँका ६ जना छोरा, ६ जना छोरी, एक जना ज्वाइँ, एक जना बुहारी र एक जना नाती रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उर्मिलाका श्रीमान‍्काे तीन वर्षअघि निधन भएको थियो । जस्तापाताले छाएको मूल घरको पालीमा खरले छाएको भान्साकोठा थियो । आगलागीले भान्साकोठा जलेको देखिन्छ । उनीहरूले शुक्रवार सुँगुर काटेर खाएको छिमेकीले बताएका छन् । बाख्रा, कुकुर र भैँसी भने त्यहीँ छाडेका छन् ।

अल्पसङ्ख्यक लोपोन्मुख हायू जाति भएकाले उनीहरूले प्रतिव्यक्ति महिनाको चार हजार रुपैयाँ भत्ता पाउँछन् । बिहीवार मात्रै हायू परिवारले भत्ताको सिफारिश लिएका वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सम्पर्कविहीन भएका हायू परिवारको खोजी भइरहेको भए पनि अहिलेसम्म सम्पर्कमा नआएका प्रहरीले जनाएको छ । उनीहरूले प्रयाग गर्ने मोबाइल स्विच अफ गर्नुअघि रामेछापको मन्थलीमा रहेको टावरसँग कनेक्शन देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस