घोराही, साउन १३घोराही उपमहानगरपालिका–१८ ले गिठेपानी क्षेत्रका १२ टोललाई सुरक्षाकाे दृष्टिले थप सुदृढ बनाउने उद्देश्यले दुईवटा सायरन जडान गरेको छ। गिठेपानी आधारभूत विद्यालयमा जडान गरिएको ती सायरनमार्फत आपतकालीन अवस्थामा टोलबासीलाई तुरुन्त जानकारी गराउने व्यवस्था गरिएको छ।

१२ टोल विकास संस्थाका ४८ जना व्यक्तिका मोबाइल नम्बरहरू सायरन प्रणालीमा जोडिएको छ। कुनै पनि आपराधिक वा विपदजन्य घटनाकाे जानकारी भएमा उनीहरूबाटै मोबाइलमार्फत सायरन बजाउने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।

सायरन उद्घाटन कार्यक्रम १२ टोल विकास संस्थाका अध्यक्ष मातृका प्रसाद पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडाध्यक्ष भरतमणि अर्यालकाे विशेष आतिथ्यमा मंगलबार सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले समुदायमै आधारित सुरक्षा प्रणालीको आवश्यकता औंल्याउँदै नागरिक स्वयं सचेत भएर सुरक्षामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सायरनको दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।

वडाध्यक्ष अर्यालले लागुऔषध दुर्व्यसन तथा चोरीजस्ता घटनाको न्यूनीकरण गर्न सायरन जडान गरिएको उल्लेख गर्दै यसले टोललाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत विजय गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसी, मसिना गाउँ सुरक्षा समितिका अध्यक्ष पूर्णबहादुर मल्ल, गाउँवेसी टोल विकास संस्थाका अध्यक्ष सोविलाल पुनलगायतले सुरक्षा सुनिश्चित गर्न समुदायको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे ।

कालिका सामुदायिक वन समूहकी अध्यक्ष यशोदा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मिलिजुली टोल विकास संस्थाका कोषाध्यक्ष ऋषिराज पाण्डेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस