काठमाडौं, साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी समिति सदस्य शेरबहादुर तामाङको नेतृत्वमा एक प्रतिनिधिमण्डलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख समक्ष मेलम्ची र आसपासका क्षेत्रका विद्युत् समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएको छ।
प्रतिनिधिमण्डलमा आदरणीय नेता माधव पाण्डे, बागमती प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावती क्षेत्रका अग्रज नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
ध्यानाकर्षण पत्रमा मेलम्ची र वरपरका क्षेत्रमा पटक–पटक देखिने विद्युत् अवरुद्धले सर्वसाधारणलाई गम्भीर सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ। मेलम्ची क्षेत्रमा नयाँ सव-स्टेशन निर्माण तथा तिपेनी सव-स्टेशनको तत्काल मर्मत गरी नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणलाई जोडदार माग गरिएको हो।
प्रतिनिधिमण्डलले दीर्घकालीन समाधानका लागि आवश्यक नीतिगत निर्णय तथा बजेट विनियोजन गर्न पनि आग्रह गरेको छ।












