काठमाडौं, साउन १४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्चमा यो वर्ष उल्लेख्य कटौती भएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रधानमन्त्री कार्यालयबाट जम्मा ४ करोड १४ लाख रुपैयाँ खर्च भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २ करोड रुपैयाँ कम हो।

२०८०/०८१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ६ करोड २१ लाख रुपैयाँ खर्च गरिएको थियो। तर २०८१ असार मसान्तसम्म केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सो कार्यालयको खर्च ३३ प्रतिशतले घटेको देखिएको छ।

पछिल्लो तीन महिनामात्र हेर्दा, प्रचण्डको कार्यकालमा २ करोड २५ लाख खर्च भएको थियो भने ओलीको कार्यकालमा सोही अवधिमा १ करोड ३३ लाख मात्र खर्च भएको छ।

ओलीको पालामा सबैभन्दा बढी खर्च पारिश्रमिक शीर्षकमा देखिएको छ, जुन १ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ। त्यसपछि सवारी मर्मत, इन्धन, अनुगमन, कार्यालय सामग्रीलगायत विभिन्न शीर्षकमा खर्च गरिएको हो।

त्यसैगरी, प्रचण्डको कार्यकालमा पारिश्रमिकमै २ करोड ४० लाख, इन्धनमा ७३ लाख, र विविध शीर्षकमा १ करोड ६९ लाख रुपैयाँ खर्च भएको देखिन्छ। दुवै कार्यकालको तुलनामा हेर्दा, हाल प्रधानमन्त्री कार्यालयको खर्चमा स्पष्ट रुपमा कटौती भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस