भरत वली

दाङ, साउन १७ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३, रानागाउँका स्थानीयवासीहरूले ज्यान र जग्गाजमिनको सुरक्षाका लागि त्रिवेणी गाउँपालिका अध्यक्षसमक्ष समक्ष लिखित निवेदन पेस गरेका छन्। स्थानीयवासीहरूले निवेदनमार्फत रोल्पा चुनढुंगा खानी प्रा.लि. र शिवस्वरुप खनिज उद्योगले संविधानद्वारा प्रदत्त मौलिक हकको उल्लङ्घन गर्दै जबरजस्ती खानी सञ्चालन गरी रानागाउँवासीलाई प्रत्यक्ष असर पारिरहेको गम्भीर आरोप लगाएका छन्।

निवेदनअनुसार, खानी सञ्चालकहरूले विगतमा स्थानीयहरूसँग गरेका सम्झौता र सहमति कार्यान्वयन नगरी उल्टै धम्की, त्रास र दुव्र्यवहार गर्दै आएको जनाइएको छ। खानी तथा उद्योगसँग सम्बन्धित प्रेम पुन, लिलाधर वली, रामबहादुर खड्का लगायतले स्थानीयवासीलाई डरधम्की दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरिएको छ।

स्थानीयवासीहरूले खानी सञ्चालनका कारण आफ्नो बासस्थान र जग्गाजमिनमा प्रत्यक्ष असर परेपछि संविधानले सुनिश्चित गरेको जीवनयापनको अधिकार र स्वामित्व अधिकार कुण्ठित भएको उल्लेख गरेका छन्। उनीहरूले पटक–पटक आफ्ना जायज माग राख्दा समेत बेवास्ता भएकाले परिस्थिति गम्भीर बन्न सक्ने चेतावनी दिंदै सम्बन्धित निकायको तत्काल हस्तक्षेपको माग गरेका छन्।

उक्त निवेदनमा भावना घर्ती, सागर विक, बुद्धिमान विक, हरिप्रसाद बाँठा, नारायण विक, किरण विक, यामबहादुर राना, मनसरा सुन घर्ती पुन, मंगल विक, दीपक बुढा, भुमा विक, चन्द्र गिरी, प्रकाश घर्ती, गौमति घर्ती, सम्मेस रामा दिलसरा घर्ती, खिरमाली राना, दिलकुमारी राना, रमेश राना, भूपबहादुर थापा, जसबहादुर बुढा, गुरु घर्ती, किमा विके, कमल घर्ती, अर्जुन विक र मनबहादुर राना सहित २५ जनाको हस्ताक्षर रहेको छ।

निवेदनको प्रतिलिपि रोल्पा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लुम्बिनी प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा गृह मन्त्रालय, काठमाडौंमा समेत पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस