घोराही, साउन२० । दाङको घोराही–१७ गुलरियामा जारी एक महिनाको शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा नगद सहयोग गर्ने दाताहरूको संख्या क्रमशः बढ्दै गएको छ।

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक सङ्ग्रहालय परिसर तथा शिव–पार्वती र राधाकृष्ण मन्दिरको संरक्षण र भौतिक उन्नतिको उद्देश्यले आयोजना गरिएको यो धार्मिक अनुष्ठानमा मंगलबार जमुना टोल निवासी चन्द्रबहादुर रोका र उनकी श्रीमती जानकादेवी रोकाले ६२ हजार १ सय ११ रुपैयाँ नगद दान गर्नुभयो।

रोका दम्पतीका अनुसार, यो योगदानले मन्दिर परिसरको सौन्दर्यकरण, सङ्ग्रहालय स्तरोन्नति, पदमार्ग, विश्राम गृह, बिजुली बत्ती, खानेपानी जस्ता आधारभूत संरचना सुधार र थप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिव–पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शिव महापुराण र श्रृङ्गारिक महाआरती मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीले सहयोग गर्ने दाता परिवारलाई धन्यवाद व्यक्त गर्दै गुलरिया पार्कको संरक्षण र विकास सबैको साझा जिम्मेवारी रहेको बताए। उहाँले धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य प्राप्त गर्न सबैलाई आग्रह समेत गर्नुभयो।

एक महिनासम्म चल्ने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा दैनिक बिहान ४:३० बजेदेखि योग साधनाको कार्यक्रम सुरु हुन्छ। त्यसपछि रुद्री, रुद्राभिषेक, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन तथा गृह पूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध र चूडाकर्मलगायत अनुष्ठान सञ्चालन हुन्छन्। साँझ भने नियमित महाआरती हुने गर्छ।

अनुष्ठानका प्रमुख कथावाचक सुप्रसिद्ध पण्डित आचार्य श्यामशरण रहनुभएको छ भने दैनिक रूपमा उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति रहने गरेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस