दाङ, साउन २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसँग पहल गर्नुभएको छ। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले कूटनीतिक माध्यममार्फत खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कदम चाल्न आग्रह गर्नुभएको हो।

बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको वाकुडा क्षेत्रमा पर्ने बिनु नदीमा आएको बाढी र पहिरोका कारण बर्दियाका चार जना नेपाली बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का करिब ४० वर्षीय नरेन्द्र खड्का, उनकी ३२ वर्षीया पत्नी सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का र मधुवन नगरपालिका–५ की अमृता परियार रहेका छन्। उनीहरू रोजगारीको सिलसिलामा उत्तराखण्ड पुगेका थिए।

मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस