पश्चिम दाङ, साउन २४ । दंगीशरण गाउँपालिका–१ अन्तर्गतको फुर्केसल्लीमा चार दिनदेखि विद्युत आपूर्ति अवरुद्ध भएको छ। स्थानीयका अनुसार गत बुधबारदेखि फुर्केसल्लीमा अन्धकार छाएकाे छ ।
विद्युत प्राधिकरण तुलसीपुरमा पटक–पटक फोन सम्पर्क गरेर सेवा सुचारु गराउन आग्रह गरे पनि कुनै कार्यवाही नभएको उनीहरूको आरोप छ। दंगीशरणको बाँकीस्थित बुर्केसाल क्षेत्रमा तार चुडिएको कारण विद्युत आपूर्ति रोकिएको भए पनि, समस्या समाधानका लागि कर्मचारी पठाउन प्राधिकरणले पहल नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन्।
विद्युत नहुँदा गाउँ पूर्ण रूपमा अन्धकारमा डुबेको र मोबाइल चार्ज गर्न नसक्दा सम्पर्क समेत विच्छेद हुने अवस्था आएको स्थानीयले बताएका छन्। उनीहरूले तत्काल विद्युत सेवा पुनः सुचारु गरिदिन माग गरेका छन्।
यस विषयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेशकुमार महतोले समस्या बुझेर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।












