दाङ, साउन २५ । दाङको तुलसीपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का ५६ वर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर–१८, दुधरास नजिक शनिबार बेलुकी करिब साढे ७ बजे ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका लु ३४ प ५४०६ नम्बरका चालक चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, लु.प्र. ०२–००१ प ११२१ नम्बरका चालक तुलसीपुर–५ निवासी २७ वर्षीय नवराज पौडेल र सोही मोटरसाइकलमा पछाडि सवार, हाल तुलसीपुर–५ बसोबास गर्दै आएका बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ निवासी १८ वर्षीय रोशन पण्डित घाइते भएका छन्।
उपचारपछि पण्डितलाई अस्पतालले डिस्चार्ज गरेको र पौडेललाई थप उपचारका लागि सिटी हस्पिटल पठाइएको छ।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












