दाङ, साउन २६ । गुरुकुल एकेडेमी, घोराहीको आयोजनामा सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेलकुदलाई केवल जित–हारमा सीमित नगरी, अनुशासन, स्वास्थ्य र एकताको उत्कृष्ट साधनका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार खेलकुदले विद्यार्थीमा शारीरिक तन्दुरुस्तीका साथै आपसी सद्भाव, सहयोगभावना र टोली भावना अभिवृद्धि गर्छ, जसले भविष्यमा नेतृत्व क्षमता, समय व्यवस्थापन र सहिष्णुताको गुण सिकाउँछ।
“आजका विद्यार्थी नै भोलिका राष्ट्रका मेरुदण्ड हुन्, खेलकुदमार्फत उनीहरूलाई जीवनका महत्वपूर्ण मूल्य र सीप सिकाउन सकिन्छ,” मेयर चौधरीले जोड दिनुभयो।
उद्घाटन समारोह गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शान्तिसुधा बोर्डिङ स्कुलका प्रधानाध्यापक विनयकुमार मिश्र, पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत र बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीलगायतका वक्ताहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
समारोहमा स्वागत मन्तव्य गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलले राख्नु भएको थियो भने सहजीकरण शिक्षक बिबेक देवकोटाले गर्नुभएको थियो।
प्रतियोगिताको पहिलो दिन गोरखा ‘बी’ समूहले गुरुकुल ‘बी’ समूहलाई ५८–२५ अंकले, गोरखा ‘ए’ समूहले जनज्योति ‘सी’ समूहलाई ८८–१८ अंकले पराजित गरे। त्यस्तै, गुरुकुल ‘ए’ समूहले शान्तिसुधालाई ८१–१२ अंकले, शान्तिसुधाले पद्यमोदयलाई २०–१७ अंकले, र गुरुकुल ‘बी’ समूहले दिपशिखालाई ३०–१९ अंकले हराउँदै विजयी भए। आयोजकका अनुसार चार दिनसम्म चल्ने यस प्रतियोगितामा दाङका विभिन्न विद्यालयका १४ टिमले सहभागिता जनाउनेछन्।











