भरत वली
घाेराही, साउन २८ । घोराहीबाट राेल्पाकाे तालबाङतर्फ जाँदै गरेको जिप आज (बुधबार) दिउँसो १ बजेर ५० मिनेटमा दुर्घटनामा परेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको इ. प्र. का. रोल्पाले जानकारी दिएकाे छ। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि पठाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ६ जनालाई रोल्पा अस्पताल रेउघा पठाइएको छ। उनीहरूमा प्रहरी जवान कमलेश यादव, माडी–१ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाट्नाका ५५ वर्षीय कमल वली, सोही स्थानकी ६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३ बाघमाराकी २५ वर्षीया पवित्रा रोकामगर र उनका ३१ वर्षीय श्रीमान भिमसेन रोका रहेका छन्। प्रहरीका अनुसार तीमध्ये दुई जनाको अवस्था सामान्य छ भने बाँकी चार जनाको अवस्था गम्भीर छ।
यस्तै सामान्य घाइतेहरूलाई माडी–२ घर्तिगाउँस्थित स्मृति अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। सामान्य घाइतेहरूमा माडी–३ तालाबाङकी २६ वर्षीया रेजिना रामिजाल, सोही स्थानकी १४ वर्षीया पूर्णकला विक, १८ वर्षीया एलिशा घर्तीमगर, १७ वर्षीय मनोज विक, माडी–५ भाबाङका २० वर्षीय विवेक घर्तीमगर र चालक रोल्पा नगरपालिका–७ दाङबाङका २७ वर्षीय होम नारायण विक रहेका छन्।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












