घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा आयोजित एक महिनासम्म चलेको शिव महापुराण तथा श्रृङ्गारिक महाआरती कार्यक्रम (आज) शनिबार समापन भएको छ। कार्यक्रममा २१ लाख रुपैयाँभन्दा बढी दान संकलन भएको मूल आयोजक समितिले बताएकाे छ।

समापन समारोह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीको अध्यक्षता तथा घाेराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा र स्थानीय समाजसेवी तथा दानदाता बसन्ता केसीको विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

समितिका कोषाध्यक्ष दिपकुमार खत्रीले कार्यक्रममा पहिलोपटक आयोजना गरिएको धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न भएको बताउँदै, संकलित रकमबाट शहीद स्मारक पार्क र मन्दिर परिसरको व्यवस्थित विकास तथा सौन्दर्यकरणमा लगानी गरिने जानकारी दिनुभयो।

प्रमुख आतिथ्य उप-प्रमुख डिसीले मन्दिर व्यवस्थापन समितिको यो पहल ऐतिहासिक कामको सुरुवात भएको उल्लेख गर्दै, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगमा स्थानीयको भूमिका उजागर गराउन तथा राज्यमा सकारात्मक दबाब सिर्जना गर्न महत्वपूर्ण योगदान पुगेको बताउनु भयाे। उहाँले घोराही क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक, सामरिक तथा प्रशासनिक दृष्टिले महत्वपूर्ण भएको र यसको अधिकतम उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि जोड दिनुभयो।

कार्यक्रम श्रावण १ गतेदेखि सुरु भएको थियो र एक महिनासम्म निरन्तर सञ्चालन भएकाे हाे । यस दौरान सुप्रसिद्ध पण्डित आचार्य श्यामशरणको मुखारविन्दबाट शिवपुराण पाठ, बिहान योग अभ्यास र साँझ श्रृङ्गारिक महाआरती विशेष आकर्षणका रूपमा आयोजना गरिएको थियो। धार्मिक अनुष्ठान अन्तर्गत रूद्राभिषेक, लघु रूद्र, चौरासी पूजा, जन्मदिन, चूडाकर्म, भजन–कीर्तन, धार्मिक प्रवचन तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो।

आयोजक समितिका अनुसार, कार्यक्रमबाट उठेको रकम मन्दिरको सौन्दर्यकरण, पदमार्ग निर्माण, विश्राम गृह, बत्ती तथा खानेपानी सुविधा विस्तारमा खर्च गरिने बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस