घोराही, भदाै १ । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रको पूर्वी भागलाई लक्षित गर्दै वडा नम्बर २ स्थित बुकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरेको छ। खेलकुदको विकाससँगै सभा–सम्मेलन तथा आपतकालीन अवस्थामा आश्रयका रूपमा प्रयोग गर्न सकिने गरी जनता माध्यमिक विद्यालय बुकाको परिसरमा उक्त कभर्ड हल निर्माण गरिएको बताइएकाे छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आइतबार एक कार्यक्रमका बीच कभर्ड हलको उद्घाटन गर्नुभयो हाे । वडा नम्बर १ का अध्यक्ष तथा कभर्ड हल व्यवस्थापन समितिका सल्लाहकार राममणि पाण्डेको अध्यक्षता तथा मन्त्री ढकालको प्रमुख आतिथ्यतामा र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशेष आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।
उद्घाटन कार्यक्रममा मन्त्री ढकालले खेलकुद क्षेत्र आर्थिक, सामाजिक, शारीरिक र मानसिक विकाससँगै स्वास्थ्यको आधार भएको उल्लेख गर्दै व्यक्ति स्वस्थ भए मात्रै परिवार, समाज र देशको सम्बृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, नगर प्रमुख चौधरीले घोराही उपमहानगरपालिकाले बजार क्षेत्रका लागि वडा नम्बर १४ को कार्यालय नजिक, पश्चिम क्षेत्रका लागि वडा नम्बर १० नारायणपुरमा र पूर्वी क्षेत्रका लागि वडा नम्बर २ रामपुर बुकामा कभर्ड हल निर्माण गरेर स्वस्थताको महत्व जनाउन खोजिएको बताउनु भयो ।












