घाेराही, भदौ २ । घोराही उपमहानगरपालिका–८ का वडाअध्यक्ष जितेन्द्रबहादुर शाहले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत भएको छ।
गत असार ११ गते उपमहानगरपालिकाको १३औं नगरसभामा बजेटका विषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष शाहले पदबाट राजीनामा दिएका थिए। नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएको पत्रमा उनले ‘नीति तथा कार्यक्रममा बाँडफाँडको विषयमा चित्त नबुझेकाले जनतालाई गरेको प्रतिबद्धता पुरा गर्न नसक्ने स्थिति आएको र त्यसप्रति आत्मग्लानी भएको कारण राजीनामा गरेको’ उल्लेख गरेका थिए।
सो राजीनामा सोमबार घोराहीमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । नगरप्रमुख चौधरीले शाहले बुझाएको राजीनामा छलफलपश्चात कार्यपालिकाले अनुमोदन गरेको जानकारी दिएका छन्।
२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा शाह नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। तर पछिल्लो समय उनले विज्ञप्ति जारी गर्दै आफू एमालेमा नरहेको स्पष्ट पारेका थिए।
शाहको पद रिक्त भएपछि वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको उपमहानगरपालिकाले जनाएको छ।












