काठमाण्डाै, भदाै ४ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म ६३ जनामा यो रोग पुष्टि भएको छ।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक–एक जना तथा चितवनका तीन जनाको मृत्यु भएको तथ्याङ्क छ। मृत्यु हुनेमध्ये आठ वर्ष उमेरका एक, १७ वर्ष उमेरका एक र बाँकी ४० वर्षभन्दा माथिका नौ जना रहेका छन्।
गत वर्ष सन् २०२४ मा यस रोगबाट २५ जनाले ज्यान गुमाएका थिए भने ८६ जनामा सङ्क्रमण देखिएको थियो। जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमणको जोखिम उच्च हुने बताइएको छ।
नेपालमा हालसम्म करिब ८२ प्रतिशत बालबालिकालाई यो खोप लगाइएको छ। डा. गौतमका अनुसार साउनदेखि कात्तिक महिनासम्म यो रोग बढी देखिने गर्दछ। क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मस्तिष्कमा सङ्क्रमण हुने यो रोग बेलुकी र बिहान झिसमिसे समयमा बढी फैलिने गर्छ।
धानबाली, दलदल तथा पानी जम्ने ठाउँ लामखुट्टे प्रजननका लागि उपयुक्त भएकाले त्यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने चेतावनी दिइएको छ। साथै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
डा. गौतमका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन। तर सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी वा सुँगुर–बङ्गुरलाई टोकेका लामखुट्टेले मानिसलाई टोकेमा मात्र सर्ने गर्छ।












