दाङ, भदाै ४ । दाङमा स्वास्थ्य संस्था पर्याप्त भए पनि मातृ–शिशु स्वास्थ्यमा सुधार देखिएको छैन। जिल्लामा ६ वटा आधारभूत अस्पताल, ३४ स्वास्थ्य चौकी, २९ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३२ शहरी स्वास्थ्य केन्द्र र १० आयुर्वेद स्वास्थ्य केन्द्रसहित सबै वडामा स्वास्थ्य सुविधा रहेका छन्। तर मातृ मृत्युदर, बालविवाह, कम उमेरमै आमा बन्ने र घरमै सुत्केरी हुने समस्या कायम छ।

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नौ महिलाको प्रसूति समयमा मृत्यु भएको छ। त्यसैगरी, ११ प्रतिशत नवजात शिशु कम तौलका जन्मिएका छन्। गर्भवतीमध्ये २५ प्रतिशतले जुकाको औषधि, ३७ प्रतिशतले टिटानस खोप र ५२ प्रतिशतले आवश्यक क्याल्सियम खुराक पूरा पाएका छैनन्।

कानुनले बालविवाहलाई अपराध ठहर गरे पनि दाङमा अझै २० वर्ष नपुग्दै आमा बन्ने समस्या व्यापक छ। गत वर्ष मात्रै ३,३११ जना २० वर्षमुनिका महिलाले गर्भजाँच गरेका थिए। सुरक्षित गर्भपतन सेवामा पनि २० वर्षमुनिका किशोरीहरूको संख्या उल्लेख्य रहेको तथ्यांकले देखाएको छ।

अर्कोतर्फ, स्वास्थ्य संस्थामा प्रसूति गर्ने प्रवृत्ति बढे पनि घरमै सुत्केरी हुने संख्या कम भएको छैन। गत वर्ष ६५ जना महिलाले घरमै बच्चा जन्माएका छन्। बंगलाचुलीमा मात्रै ३९ घटना दर्ज भएको छ।

स्वास्थ्यकर्मीहरूको भनाइमा, नियमित गर्भजाँच नगर्ने र प्रसूतिपछि आवश्यक स्वास्थ्य परीक्षणमा लापरबाही गर्ने प्रवृत्तिले मातृ–शिशु मृत्युको जोखिम बढाइरहेको छ। हाल दाङमा ७३ प्रतिशत मात्र प्रसूति स्वास्थ्य संस्थामा हुने गरेको कार्यालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस