घोराही, भदौ ४ । घोराहीस्थित गुरुकुल एकेडेमीका विद्यार्थीहरूले हिन्दु नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा विद्यालयमा कार्यरत महिला सहयोगी कर्मचारी तथा शिक्षिकालाई तिज कोसेली प्रदान गरेका छन्।

विद्यार्थीहरूले आफ्नै पहलमा रकम संकलन गरी, बाँकी आवश्यक रकम विद्यालयको सहयोगमा जुटाएर उपहार वितरण गरेका हुन्। सो अवसरमा महिला सहयोगीलाई साडी र शिक्षिकालाई श्रृङ्गार सामग्री प्रदान गरिएको विद्यालयकी कप्तान यशु बुढाथोकीले जानकारी दिइन्। उनका अनुसार वितरण गरिएको उपहारको मूल्य करिब ५० हजार रुपैयाँ बराबरको थियो।

कप्तान बुढाथोकीले विद्यार्थीहरूको यस्तो प्रयासलाई विद्यालयको मौलिक संस्कार र परम्पराको प्रतिबिम्बका रूपमा लिइएको बताउँदै यसले सामाजिक चेतना, आपसी सद्भाव र सम्मानको भावना अझ मजबुत भएको उल्लेख गरिन्। कार्यक्रमको नेतृत्वसमेत उनले नै गरेकी थिइन्।

विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यार्थीहरूले महिलाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने उद्देश्यले गरेको यो कार्य विद्यालय समुदायका लागि उदाहरणीय अभ्यास बनेको प्रतिक्रिया दिएका छन्। तिज पर्वको अवसरमा गरिएको कोसेली हस्तान्तरणलाई सहभागीहरूले आत्मीय र भावनात्मक क्षणको रूपमा अनुभूत गरेका थिए।

प्रधानाध्यापक डा. कृष्णराज डिसीले विद्यार्थीहरूको सकारात्मक सोच र व्यवहारप्रति खुशी व्यक्त गर्दै यस्ता गतिविधिले विद्यालयलाई अझ अनुकरणीय बनाउन मद्दत गर्ने बताउनु भयाे । उहाँले विद्यार्थी, शिक्षक र कर्मचारीबीचको सम्बन्ध सुदृढ गर्नुका साथै समाजमा सम्मान र सहअस्तित्वको संस्कार प्रवर्द्धन गर्न पनि यस कार्यले योगदान पुर्‍याएको बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस