घोराही, भदौ ४ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागको आयोजनामा “तीज मिलन कार्यक्रम–२०८२ तथा महिला स्वतन्त्रता र मिडिया अन्तरक्रिया” बुधबार सम्पन्न भएको छ।

कार्यक्रममा महिला विभाग प्रमुख तथा दाङ शाखाकी उपाध्यक्ष नारायणी रजौरेको अध्यक्षता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य लिला शाहको विशेष आतिथ्य रहेको थियो। सोही अवसरमा लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्मा, महासङ्घ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियनकी उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टरका उपमहासचिव लक्ष्मी आचार्य, क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्य, प्रेस चौतारी नेपालका पूर्व सदस्य सुदर्शन रिजाललगायतका अतिथि उपस्थित हुनुहुन्थ्यो। स्वागत मन्तव्य सरीता चौधरीले प्रस्तुत गर्नुभएको कार्यक्रममा सञ्चालन रमा नेपालीले गर्नुभएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय सचिव प्रियासनले चाडपर्वलाई आडम्बररहित, सरल र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पर्वलाई सांस्कृतिक जगेर्ना, सामाजिक सद्भाव र खुशी बाँड्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो। खर्चालु प्रतिस्पर्धाले समाजमा विकृति ल्याउने भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ थियो।

सोही अवसरमा केन्द्रीय सदस्य लिला शाहले तीज महिलाका लागि उत्साह, आत्मबल र उमङ्ग दिने पर्व भएको बताउनुभयो। लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले चाडपर्वले समाजमा एकता र सहकार्य बढाउने भएकाले यसको सकारात्मक पक्ष आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

महासङ्घ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले तीज मिलनजस्ता कार्यक्रमले पत्रकारबीच आत्मीयता र विश्वासलाई बलियो बनाउने बताउनुभयो। उहाँले पत्रकार महासङ्घ केवल पेशागत अधिकारका लागि मात्र नभई सामाजिक तथा सांस्कृतिक संरक्षणमा पनि जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।

नेपाल प्रेस युनियनकी उपमहासचिव सुलोचना गौतमले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने भन्दै यसले महिलालाई आफ्ना संघर्ष, सपना र पीडा गीतमार्फत अभिव्यक्त गर्ने अवसर दिने बताउनुभयो। प्रेस सेन्टरका उपमहासचिव लक्ष्मी आचार्यले महिला पत्रकारहरूले पेशागत भूमिकासँगै संस्कृति जगेर्नामा पनि योगदान पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी, क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्ने सन्देश दिने बताउनुभयो भने प्रेस चौतारी नेपालका पूर्व सदस्य सुदर्शन रिजाले तीज मिलनले पत्रकारबीच आपसी सम्बन्ध र समझदारीलाई बलियो बनाउने धारणा राख्नुभयो।

सरीता चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा रमा नेपालीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस