दाङ, भदौ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिको संरक्षणमा यदि विचलन हुन्छ भने समाजमा विकृति र असन्तुलन फैलने भएकाले यस्ता प्रवृत्तिलाई रोक्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ।
हरितालिका तीजको पूर्वसन्ध्यामा राप्ती उपत्यका (देउखुरी) मा आयोजित तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुर्खाले जोगाएका पर्वको मौलिकता कायम राख्नुपर्नेमा जोड दिनुभयो।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “धर्म र संस्कृतिले समाजलाई अनुशासित बनाउँछ र सकारात्मक परिवर्तनतर्फ डोर्याउँछ। तर, विचलनले समाजमा विकृति निम्त्याउँछ। त्यसैले संस्कृतिको संरक्षण र प्रवद्र्धन हाम्रो साझा जिम्मेवारी हो।” उहाँले वर्तमानमा तीजलाई विभिन्न तरिकाले विकृत बनाउने प्रयास भइरहेको र त्यसले संस्कृतिमाथि प्रहार गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य र मान्यतालाई जीवित राख्ने र संस्कृतिको वास्तविक मर्म जोगाउन आवश्यक भएको बताउनुभयो। प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिले निजामती सेवामा महिला कर्मचारीको सहभागिता बढाएको उल्लेख गर्नुभयो।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीजलाई ऊर्जाशील पर्वको रूपमा लिइने बताउँदै यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र आत्मीय भावना विकासमा योगदान गर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तीजले ऊर्जाशील विचार र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ।”
कार्यक्रममा सहभागीहरूले तीजको सांस्कृतिक महत्वलाई जगेर्ना गर्दै यसलाई विकृतिबाट जोगाउन सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिय ।










