काठमाडौं, भदाै ५ । लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालको आपत्तिपछि भारतले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। भारतले नेपालको दाबी ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको स्पष्ट पारेको हो।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार विज्ञप्ति जारी गर्दै भने, “भारत र चीनबीच लिपुलेक नाकाबाट हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो। दशकौँदेखि निरन्तर चल्दै आएको यो व्यापार कोभिड महामारीलगायत कारण केही समय अवरुद्ध भए पनि दुवै पक्षको सहमतिमा पुनः सुरु गरिएको हो।”
नेपालले हालै लिपुलेक हुँदै भएको व्यापारबारे आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको थियो। तर, भारतले यस्ता दाबीहरूलाई अस्वीकार गर्दै यसलाई न ऐतिहासिक प्रमाणमा आधारित, न यथार्थमै आधारित रहेको टिप्पणी गरेको छ।
प्रवक्ता जैसवालले थपे, “भू–भागसम्बन्धी कुनै पनि एकपक्षीय वा कृत्रिम दाबी स्वीकार्य हुँदैन। यस्ता दाबीहरू न त न्यायसंगत हुन्छन्, न त ऐतिहासिक तथ्यहरूमै टेकेको हुन्छ।”
उनले बाँकी रहेका सीमासम्बन्धी विषय समाधानका लागि भारत नेपालसँग संवाद र कूटनीतिमार्फत सकारात्मक रुपमा काम गर्न तयार रहेको पनि स्पष्ट पारे












