घोराही, भदौ ५ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोकल कर्डमा मासु पलाएको एक बिरामीको सफल शल्यक्रिया गरिएको छ।
नाक, कान र घाँटी रोग विशेषज्ञ सर्जन डा. दिपेन्द्र गौतमको नेतृत्वमा डा. एलिना आचार्य, डा. सरोज आचार्य, एनेस्थेसियोलोजिस्टसहितको चिकित्सक टोलीले घोराही उपमहानगरपालिका–१८ निवासी आनन्द मोहनको शल्यक्रिया सम्पन्न गरेको हो।
सफल अपरेशनपछि बिरामी मोहनले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै पश्चिम नेपालकै उत्कृष्ट स्वास्थ्य संस्था भनेर प्रतिष्ठानको प्रशंसा गरेका छन्।
उनको भनाइमा, “आज मेरो अपरेशन सफल भयो। डा. दिपेन्द्र गौतम, डा. सरोज आचार्य, डा. एलिना आचार्यसहित सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँहरूको सीप, अनुभव र आत्मीयताले अपेक्षित सेवा प्राप्त भएको अनुभूति भयो। मेरो जस्तै उपचारका लागि आउने हजारौं बिरामीले पनि यस्तै गुणस्तरीय सेवा पाउन सकून् भन्ने कामना गर्दछु।”












