दाङ,भदौ ५ । दाङको घोराही–१४ नयाँबजार युवा क्लब (युएनबीसी) ले आगामी असोज ४ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले बिहिवार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।
युएनबीसीका सहसचिव एवं प्रतियोगिता संयोजक गोपाल कुँवरका अनुसार प्रतियोगिता घोराही–१७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा हुनेछ। स्व. खेलाडी शक्तिमान बुढा मगरको सम्झनामा आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन सबै क्लबलाई आमन्त्रण गरिएको छ।
प्रतियोगितामा विजयी हुने टोलीलाई नगद १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै, प्रत्येक खेलको प्लेयर अफ द म्याच ले नगद १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सहभागी क्लबले ५ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ र असोज २ गतेभित्र दर्ता सम्पन्न गर्नुपर्नेछ। खेल हेर्न आउने दर्शकका लागि २० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी टिमले खेलाडी परिवर्तन गर्न सक्ने सुविधा पनि राखिएको क्लबका कोषाध्यक्ष मनकाजी बुढाले जानकारी दिनुभयो।
क्लबले साथीको सम्झनामा आयोजना गर्न लागेको यो प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकाससँगै खेलाडीको सीप अभिवृद्धिमा सहयोग गर्ने विश्वास लिएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले युएनबीसी यस क्षेत्रकै पुरानो र सक्रिय फुटबल क्लब भएकाले यसले खेलकुदको उत्थानमा महत्वपूर्ण योगदान दिएको बताए।
प्रतियोगिता भव्य बनाउन विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको आयोजकले जनाएको छ।












