भरत वली
राेल्पा, भदाै ६ । रोल्पा नगरपालिका, लिबाङले आ.व. २०८२/८३ अन्तर्गत महिला तथा बालबालिका शाखाबाट विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले प्रकाशित गरेको सूचनामा विपन्न, एकल, लैङ्गिक हिंसा र द्वन्द्वपीडित महिला, अपाङ्गता भएका व्यक्तिहरु, दलित समुदाय र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई लक्षित गरी सीप विकास तालिम र आयआर्जनमुखी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
कार्यक्रम अन्तर्गत मकैको पोक्सरबाट हस्तकलाका सामग्री बनाउन तालिम, विपन्न अपाङ्गता भएका व्यक्तिलाई ९० प्रतिशत अनुदानमा बाख्रा वितरण, दलित उत्थानका लागि १० जनालाई ९० प्रतिशत अनुदानमा बाख्रा वितरण, साथै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई सीप विकास तालिम र लघु उद्यम व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने छ।
यस्तै, इच्छुक व्यक्तिहरुले व्यक्तिगत निवेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, र अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्रसहितको कागजात संलग्न गरी भदौ महिनाको मसान्तभित्र महिला तथा बालबालिका शाखामा आवेदन पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

आवेदन प्राथमिकताको आधारमा छनौट हुने समेत नगरपालिकाले जानकारी दिएको छ।












