काठमाण्डौ, भदाै ७ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको घुइँचो लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ ।
विशेषगरी आजको दिन दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गरिएको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने गाडीलाई चलाउन रोक लगाइएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ ।
यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवम् गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।
मेलामा पुगेका भक्तजनले गाडीको असुविधा भएको दुखेसो समेत पोखेका छन् । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।












