काठमाण्डाै, भदाै ७ । भारत र चीनले गएको मङ्गलवार लिपुलेक नाका हुँदै वैदेशिक व्यापार गर्ने सहमति गरेपछि नेपालले भारत र चीन दुवैलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ ।

नेपालले अस्ति बिहीवार दुवै देशलाई कूटनीतिक नोट पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आजै एमाले महासचिव शङ्कर पोख्रेल र सचिव लेखराज भट्टले पनि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको बताउनुभएको छ ।

कूटनीतिक नोटमा भारतसँग स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान गर्ने भनिएको छ । तर नेपालबारेका जानकार भारतीय विज्ञहरूले भने लिपुलेकका बारेमा भारतले वार्ता गर्नेमा आशङ्का व्यक्त गरेका छन् । बीबीसीसँगको कुराकानीमा उनीहरूले सन् १९५४ मै लिपुलेक हुँदै भारत र चीनबीच व्यापार खुला रहेको र अहिले पनि चीनले त्रिदेशीय मुद्दा नठानेका कारण भारतले यो मुद्दालाई असान्दर्भिक भन्ने बताएका छन् ।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक र नेपाल मामिला विज्ञ एसडी मुनीले बीबीसीसँग कुरा गर्दै भारतले लिपुलेकको विषयमा नेपालसँग कुरा गर्ने सम्भावना आफूले नदेखेको बताउनुभएको हो ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न अङ्ग रहेको बताउँदा भारतको विदेश मन्त्रालयले प्रतिवाद गरेको थियो । भारतले केही समयअघि मात्रै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएको छ । यस्तै प्रधानमन्त्री ओलीले यही महिना चीनको भ्रमण गर्दै हुनुहुन्छ ।

आफ्नै नेतृत्वमा चुच्चे नक्सा जारी गर्दै लिपुलेक, कालापानी हुँदै लिम्पियाधुरासम्मको भूमि नेपालको नक्सामा समेट्नुभएका प्रधानमन्त्री ओलीका लागि दुवै भ्रमणमा नैतिक समस्या देखिन थालेको छ ।

लिपुलेकलाई लिएर भारत र चीनले गरेको सहमतिमा नेपालका सबैजसो दलहरूले संसद् बैठकमा र बाहिर पनि विरोध गरिरहेका छन् । यस्तै सडकमा प्रदर्शनसमेत शुरू भएको छ । आज संयुक्त विद्यार्थी सङ्गठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस