काठमाडौं, भदौ ८ । आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो, जसमा १६.५ प्रतिशत वृद्धि भएको थियो। यस वर्ष मासिक हिसाबले समेत रेमिट्यान्स क्रमशः बढ्दै गएको देखिन्छ।
२०८२ असार महिनामा मात्र एक खर्ब १८ अर्ब ११ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम एक खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा हेर्दा समेत विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढ्दै १२ अर्ब ६४ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यसमा १४.५ प्रतिशत वृद्धि भएको थियो।
त्यस्तै, गत आर्थिक वर्षमा कुल खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्षको १५ खर्ब ७१ अर्ब २४ करोडभन्दा उल्लेख्य वृद्धि हो।
वैदेशिक रोजगारीतर्फ हेर्दा, २०८१/८२ मा ५ लाख ५ हजार ९५७ नेपालीले अन्तिम श्रम स्वीकृति पाएका छन् भने ३ लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ थियो।

