रौतहट, भदौ ७ । रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ। प्रहरीले दिएको जानकारीअनुसार मृतक माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साह भएकाउ पाइएकाे छ ।

गौर–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी रुबी शनिवार ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्किएकी थिइन्। साँझ ६ बजेतिर परिवारले फोन गर्दा सम्पर्क नभएपछि खोजी भइरहेका बेला राति करिब १० बजे सडक पेटीमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो।

आज(आइतबार) बिहान जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सुटकेस खोल्दा महिलाको हत्या गरी शव राखिएको पाइएको हो। मृतक रुबी, रौतहटको रक्साटोल निवासी ३५ वर्षीय शिव सागर साहकी श्रीमती रहेको प्रहरीले जनाएको छ। उनका बुवा राम विनोद साह भारतको बिहार, मुजफ्फरपुरबाट बसाइँ सरेर रौतहट आएको खुलेको छ।

सुटकेसमा शव भेटिएको समाचार सार्वजनिक भएपछि मृतककी आमा मिथिलेश देवीले हराएकी छोरीकै शव रहेको पुष्टि गरेको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिएका छन। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनएकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस