घोराही, भदौ ९ । दाङ जिल्लामा पहिलो पटक पहल थिएटर स्थापनाको प्रक्रिया सुरु भएको छ । चलचित्र तथा नाट्य क्षेत्रमा सक्रिय कलाकार केएल बुढाथोकीको पहलमा घोराहीमा नाट्यमञ्च निर्माण सुरु गरिएको हो ।

साहित्य र नाटकलाई नियमित मञ्चनमार्फत अघि बढाउने उद्देश्यले घोराही उपमहानगरपालिका–१५, कर्मचारी मिलन केन्द्र नजिकै थिएटर निर्माण थालिएको बुढाथोकीले बताउनु भयाे । करिब दुई दशकदेखि चलचित्र र नाटक क्षेत्रमा सक्रिय रहनु भएका उहाँले पहल थिएटरलाई ‘कलाघर’का रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभयाे । साथै, नाटकमा रुचि राख्ने इच्छुक व्यक्तिहरूलाई सिक्न र अभ्यास गर्न मिल्ने स्थानका रूपमा समेत यसलाई उपयोगी बनाइने समेत उहाँले बताउनु भयाे ।

डेढ सय दर्शक बस्नसक्ने क्षमताको उक्त थिएटर करिब तीनदेखि पाँच महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । “हामी अत्याधुनिक संरचना भन्दा पनि मौलिक नेपाली पहिचान झल्कने, वातावरणमैत्री र सानो तर आवश्यक सुविधा सम्पन्न थिएटर बनाउन लागिरहेका छौं,” बुढाथोकीले भन्नु भयाे ।

सोमबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले थिएटरको शिलान्यास गर्नु भएकाे थियाे । शिलान्यासपछि बोल्दै उहाँले नाटकलाई साहित्यको प्रमुख विधा मान्दै दाङमा यसले सांस्कृतिक उत्थानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नु भयाे । “नाट्य क्षेत्र पछिल्लो समय ओझेलमा परेको जस्तो देखिएको छ, तर पहल थिएटरले यसलाई पुनः सक्रिय तुल्याउनेछ,” शर्माले भन्नु भयाे ।

शिलान्यास कार्यक्रममा पत्रकार सुदीप गौतमले सहजीकरण गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस