घोराही, भदौ ११ । घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन राही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढा मगरले गर्नु भएकाे हाे । उद्घाटनमा बाेल्दै अध्यक्ष बुढा मगरले शैक्षिक गतिविधिसँगै खेलकुदलाई प्राथमिकता दिनु विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले गोरखा ग्रुपले शैक्षिक गुणस्तर अभिवृद्धि मात्र नभई ठूलो संख्यामा छात्रवृत्ति प्रदान गरेर शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो।
उद्घाटन समारोह गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य महेन्द्र अधिकारी र घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गतका गोरखा घोराही, तुलसीपुर, लमही र भालुबाङका छात्र–छात्रा खेलाडी सहभागी भएका छन्। सोही ग्रुपको शैक्षिक क्यालेन्डरअनुसार तुलसीपुरमा फुटबल, घोराहीमा भलिबल र लमहीमा क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी विद्यालयले दिएको छ।
विद्यालयका प्राचार्य मानसिंह घर्ती मगरकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो।

