दाङ, भदौ १२ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयहरूको मागप्रति सकारात्मक दृष्टिकोण रहेको बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विद्यालय शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री न्यौपानेले यस्तो धारणा राखेका हुन्।
‘शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले उचित मूल्यांकन गर्नुपर्छ। यसलाई नीतिगत रूपमा निष्पक्ष ढंगले सम्बोधन गर्न राज्य सधैं तयार रहनुपर्छ,’ मन्त्री न्यौपानेले भने, ‘निजी विद्यालयसँग भएका असहमति संवादमार्फत समाधान गर्नुपर्नेमा प्रदेश सरकार संवेदनशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।’
सोमबार दाङ, लमही र राप्तीका प्याब्सन पदाधिकारीहरूले मन्त्री न्यौपानेलाई भेटी ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले विद्यालय शिक्षा विधेयकका केही बुँदा लागू भएमा निजी विद्यालयहरू प्रभावित हुने भन्दै आपत्ति जनाएका थिए।












