दाङ, भदाै १२ । लुम्बिनी प्रदेशमा यस वर्षको प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ। भदौ २० देखि २२ गतेसम्म रक्तदान, वृक्षारोपण, अन्तरक्रिया, सरसफाइ, खेलकुद, परिसंवाद, प्रभातफेरी र सांस्कृतिक झाँकीलगायतका गतिविधि सञ्चालन गरिने भएको हो।
प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले स्वास्थ्य मन्त्रालयको संयोजनमा भदौ २० गते बिहान रक्तदान कार्यक्रमबाट उत्सवको सुरुवात गर्ने निर्णय गरेको छ। सोही दिन दिउँसो १ बजे “संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम हुने छ।
भदौ २१ गते बिहान प्रशासनिक परिसरमा वृक्षारोपण र सरसफाइ अभियान चलाइनेछ भने २० र २१ गते खेलकुद प्रतियोगितासमेत आयोजना गरिने सचिवालयले जनाएको छ।
यस्तै, भदौ २२ गते प्रशासनिक संघीयता सम्बन्धी परिसंवाद, प्रभातफेरी, व्याण्डबाजा प्रदर्शन र सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम तय गरिएको मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले जानकारी दिए। सोही दिन बिहान ११ बजे प्रदेश निजामती सेवाका कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरण र मूल समारोह आयोजना गरिनेछ।
सो अवसरमा उत्कृष्ट कर्मचारीलाई प्रदेश निजामती सेवा पुरस्कार समेत प्रदान गरिनेछ। साथै, भदौ २० देखि २२ गतेसम्म सबै मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णयसमेत गरिएको छ।












