रोल्पा, भदाै १२ । रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन अन्तर्गत आगामी २०८२ साल भदौ १४ गते बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने भएको छ। निर्वाचन समितिको निर्णय अनुसार मतदान केन्द्र रोल्पा नगरपालिका–४ मा रहेको उद्योग वाणिज्य संघको भवन तोकिएको छ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार सो भवनको चारकिल्ला पूर्वतर्फ डिभिजन वन कार्यालय जाने बाटो, पश्चिमतर्फ नेकपा एमाले पार्टी कार्यालयसम्मको सडक, उत्तरतर्फ विनोद आचार्यको बारी र दक्षिणतर्फ सार्वजनिक बाटो तोकिएको छ। उक्त चारकिल्लाभित्र निर्वाचन प्रक्रियाको अवधिभर मादक पदार्थ बिक्री, वितरण तथा सेवन गर्न, हुलदंगा गर्न, होहल्ला मच्चाउन, नाराबाजी गर्न, प्रचारप्रसार गर्न तथा कुनै किसिमको बाधा–अड्चन गर्न प्रतिबन्ध लगाइएको छ।

यसैबीच, २०८२ भदौ ११ गते प्रकाशित मतदाताको नामावलीमा तोकिएको समयसम्म कुनै दाबी–विरोध नआएकोले सो नामावलीलाई अन्तिम मानिएको निर्वाचन समितिले जनाएको छ। मतदानमा सहभागी हुने मतदाताले परिचय खुल्ने कागजात तथा आफ्नो ग्राहक नम्बर सहित उपस्थित हुन अनुरोध गरिएको छ।












