भरत वली
रोल्पा, भदाै १२ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूसँग दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ।
यसअघि २०८२ भदौ ११ गतेसम्म निवेदन माग गरिएकोमा आवश्यक संख्यामा प्रस्ताव प्राप्त नभएकाले म्याद थपिएको हो। समितिको निर्णयअनुसार प्राप्त निवेदनलाई कायम राख्दै बाँकी इच्छुक व्यक्तिहरूले २०८२ भदौ २६ गतेसम्म निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले तोकिएका कार्यक्रमहरूमा ५० प्रतिशत साझेदारीमा मौरी घार निर्माण फर्म स्थापना सहयोग, अदुवा/बेसार प्रशोधनका लागि आवश्यक सामग्री वितरण (समूह वा सहकारीलाई मात्र), कृषि औजार मर्मत बर्कशप स्थापना, फलफूल काटछाँट तथा टिप्ने औजार वितरण, फलफूल नर्सरीका लागि प्लास्टिक घर निर्माण सहयोग, गहुँ, मकै र तरकारीको मूल बीउ वितरण, साथै साना कृषि औजार उपकरण वितरण जस्ता कार्य समावेश गरेको छ।
यसका लागि दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, समूह/सहकारीको निर्णय, सम्बन्धित वडाको सिफारिस, नागरिकताको प्रमाणपत्र, बर्कशपको हकमा तालिमको प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र (पकेट कार्यक्रमका लागि) लगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ।
थप जानकारीका लागि ९८६८६६४७१२ वा ९८६६९००२४३ मा सम्पर्क गर्न सकिने समेत नगरपालिकाले जनाएको छ।

