भरत वली

रोल्पा, भदाै १२ । सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु छनोट शिविर रोल्पाका विभिन्न स्थानमा जारी छ।

यसैक्रममा आज (भदौ १२ गते) सुनछहरी गाउँपालिका–५ पोबाङमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५० जनाको आँखा जाँच गरिँदा १३ जनामा मोतियाबिन्दुको समस्या पाइएको छ। ती बिरामीहरूको भदौ २१ गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा सशुल्क तथा निःशुल्क शल्यक्रिया गरिने जानकारी उपचार केन्द्रका प्रमुख केशर डाँगीले दिनुभयो।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती र बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको संयोजनमा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा भदौ ११ गतेदेखि १८ गतेसम्म जिल्लाका विभिन्न पालिकामा शिविर सञ्चालन भइरहेको छ।

शिविर तालिकाअनुसार भोलि भदौ १३ गते लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा कार्यक्रम हुनेछ। शिविर विशेषगरी ४० वर्षभन्दा माथिका बिरामीका लागि लाभदायक हुने बताइएको छ। नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र हुने र छनोट भएका बिरामीको शल्यक्रिया भदौ २० र २१ गते प्राध्यापकस्तरका नेत्ररोग विशेषज्ञद्वारा सुलिचौर सर्जिकल आँखा केन्द्रमा गरिनेछ।

शल्यक्रियाका क्रममा Phaco प्रविधि प्रयोग गर्ने बिरामीलाई ५० प्रतिशत सहुलियत उपलब्ध हुने र SICS प्रविधिबाट हुने शल्यक्रिया भने पूर्ण निःशुल्क हुने जानकारी आयोजक संस्थाले दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस