दाङ, भदौ १२ । पत्रकार तथा इतिहासकार डा. सुदीप गौतमद्वार लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ घोराहीमा एक समारोहबीच बिहिबार घाेराहीमा सार्वजनिक गरिएको छ। संस्कृतिविद् राधिकादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले पुस्तक विमोचन गर्नुभयो।
कार्यक्रममा बोल्दै उपकुलपति नेपालले दाङको भूगोल, समाज र राजनीतिक यात्रा विषयमा लामो समय अनुसन्धानपछि तयार भएको कृति नयाँ पुस्ताका लागि दस्तावेजसरह हुने उल्लेख गर्नुभयो। उहाँले यसले दाङको राजनीतिक र प्रशासनिक योगदानलाई बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले इतिहास लेखन कठिन भए पनि लेखकले जिम्मेवारीपूर्वक कार्य सम्पन्न गरेको भन्दै प्रशंसा गर्नुभयो। उनका अनुसार यसअघि दाङबारे केही पुस्तक प्रकाशित भए तापनि यस कृतिले विस्तृत रूपमा तथ्याङ्क समेटेकाले विशेष महत्व राख्छ।
पुस्तक समीक्षक प्रा.डा. शिवकुमार सुवेदीले नौ खण्डमा विभाजन गरिएको पुस्तकले दाङसँगै देशको राजनीतिक यात्रामा यस क्षेत्रले खेलेको भूमिकालाई विस्तृत रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले पुस्तकमा राज्यव्यवस्था देखि २०७० सालसम्मका राजनीतिक परिवर्तनसम्मका तथ्यहरू समेटिएको जानकारी दिनुभयो।
साहित्यकार विनोद पोख्रेल र राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले पनि पुस्तकले राजनीतिक अध्ययनका लागि आधार सामग्रीको काम गर्ने धारणा राख्नुभयो। लेखक डा. गौतमले पुस्तकमार्फत दाङको राजनीतिक योगदानलाई सबैतिर पुर्याउने उद्देश्य रहेको बताउनुभयो।
समारोहमा पूर्व मन्त्री बलदेव शर्मा मजगैयाँ, वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा लगायतको उपस्थिति थियो भने लेखिका स्वर्मिण गौतमले भिडियोमार्फत पठाएको शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन बिएन पुस्तक संसारका सञ्चालक सूर्य बिसीले गर्नुभएको हो।

