घोराही, भदाै १३ । नेपाल ज्योतिष परिषद् दाङको आयोजना तथा घोराही–१६ बाहुनडाँडामा बिहीबार पहिलो राष्ट्रिय धामी, झाँक्री, माता तथा गुरुहरूको महोत्सव तथा प्रदर्शनी सम्पन्न भएको छ।

ज्योतिष परिषद्को तान्त्रिक विभाग प्रमुख पदमबहादुर बस्नेतको अध्यक्षता र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी धामी–झाँक्रीहरूले विभिन्न झाँकी प्रस्तुत गरेका थिए।

महोत्सवमा ढ्याङ्ग्रा र भाँडासहित पुरुष तथा महिला झाँक्रीहरूले नृत्य प्रस्तुत गरेका थिए भने सल्लाको लिंगो गाडेर त्यसमा चढ्ने प्रतियोगिता पनि गराइएको थियो। साथै, भजन–कीर्तनमा विभिन्न भेषभूषामा सजिएका धामीहरूले नृत्य देखाए। थारु नाचसहित अन्य सांस्कृतिक प्रस्तुतिहरू पनि महोत्सवमा आकर्षण बने।

राप्ती क्षेत्रअन्तर्गत रुकुम, रोल्पा, सल्यान तथा बाँके, बर्दियालगायतका जिल्लाबाट आएका सहभागीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुन्दर गौतम, नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष डमरुप्रसाद निरौला, मीनराज घिमिरे, डा. अनन्तराज घिमिरेलगायत विशिष्ट अतिथि र अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

शान्ति शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन मीना भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस