दाङ, भदाै १४ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको अनुगमनमा जिल्लामा खाद्य सुरक्षाको अवस्था कमजोर देखिएको छ ।
अनुगमनका क्रममा कतिपय उद्योग अनुमति पत्रबिनै सञ्चालन भएको, मासु बजार दयनीय देखिएको र विभिन्न खाद्य उद्योग तथा पसलमा लेबलिङ, प्याकेजिङ र गुणस्तरसम्बन्धी गुनासा पाइएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा १२१ नमुना परीक्षण गर्दा खाद्यान्न, दलहन र मासुसहित केही नमुना प्रतिकूल देखिएका छन् । त्यसैगरी सर्भिलेन्सका लागि सङ्कलन गरिएका ७१ मध्ये १० नमुना र ११ दाना नमुनामध्ये ४ वटा उपभोग अयोग्य पाइएको छ ।
सत्गुण, न्यु त्रिवेणी, हातेमालो, घोराही डेरी एन्ड बेकरी, न्यु रोल्पाली, तुलसीपुर फ्लोर मिल, एभरेस्ट मसला, होमल्यान्ड मसला लगायत उद्योगमाथि गुनासा दर्ता भएका छन् । त्यस्तै टिकटक मसला उद्योग अनुमति पत्रबिनै सञ्चालन भएको, मह, पिउने पानी र बर्फी मिठाइमा अशुद्धि भेटिएकाले नष्ट गर्नुपरेको उल्लेख छ ।
तर, जिल्लामा प्रयोगशालाको अभाव, ऐनअनुसार कडा कारबाही नहुनु र स्थानीय तहले उपभोक्ता सुरक्षामा चासो नदिनु प्रमुख चुनौतीका रूपमा देखिएको छ । उपभोक्ता अधिकारकर्मीहरूले अखाद्य वस्तु बिक्री वितरणमा तत्कालीन कडा कारबाही आवश्यक रहेको बताएका छन् ।

