भरत वली
घोराही, भदौ १४ । नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सहयोगी संस्था राप्ती आँखा अस्पतालले घोराहीमा निःशुल्क आँखा स्वास्थ्य परामर्श तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ।
मधुमेही समाज दाङ र लायन्स क्लब अफ स्वर्गद्धारी रक्षाचौरको सहकार्यमा घोराही आँखा उपचार केन्द्र, नवलपुरमा शनिबार सम्पन्न कार्यक्रममा ९१ जनाले सेवा लिएका छन्।
कार्यक्रममा राप्ती आँखा अस्पतालका मेडिकल डायरेक्टर तथा जलविन्दु रोग विशेषज्ञ सह–प्रा. डा. रञ्जितकुमार साहले मधुमेह, उच्च रक्तचाप र जलविन्दुले आँखामा पार्ने असरबारे जानकारी दिँदै परामर्श प्रदान गर्नुभएको थियो।
कार्यक्रम संयोजक विमल घिमिरेका अनुसार जाँच गरिएका मध्ये १३ जना मोतियाविन्दुका, ११ जना जलविन्दुका तथा ५ जना मधुमेहका बिरामी फेला परेका छन्। साथै केहीमा आँखाको पर्दासम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि अस्पताल रिफर गरिएको छ।
कार्यक्रममा ७० जनाको निःशुल्क सुगर परीक्षण समेत गरिएको थियो। राप्ती आँखा अस्पतालका मेडिकल डायरेक्टर सह–प्रा. डा. साहसहितको प्राविधिक टोलीले सेवा दिएको हो।












