भरत वली
राेल्पा, भदाै १५ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ३ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमारामा एकदिने बृहत आँखा शिविर (दृष्टि परीक्षण, मोतिविन्दु छनौट तथा चश्मा जाँच सहित) भव्यताका साथ सम्पन्न भएको छ।
भदौ १३ गते सम्पन्न उक्त कार्यक्रम नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा/उपशाखा बागमाराको आयोजनामा तथा परिवर्तन गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको थियो।
बागमारामा सञ्चालन गरिएको शिविरमा जम्मा १८७ जनाले सेवा लिएका थिए, जसमा महिला १०२ र पुरुष ८५ जना रहेका छन्। कुल १० जना मोतिविन्दु भएका बिरामीहरूलाई शल्यक्रियाको लागि यही भदौ २५ र २६ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, लिवाङ रोल्पाको नयाँ भवनमा सञ्चालन हुने मोतिविन्दु शल्यक्रिया शिविरमा सिफारिस गरिएको छ।
उक्त शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान, गौशालाको दक्ष तथा अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा मोतिविन्दुको अपरेशन गरिनेछ।












