काठमाण्डौ, भदाै १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग नेपाललाई शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सदस्य बनाउन आवश्यक सहयोगका लागि प्रस्ताव गर्नुभएको छ । हिजो बेइजिङमा राष्ट्रपति सीसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले एससीओको सदस्य बनाउन सहयोग गर्न प्रस्ताव गर्नुभएको हो ।

राष्ट्रपति सीले नेपाललाई समृद्धिको यात्रामा सहयोग पुर्‍याउन आफ्नो देश सधैं तयार रहेको बताउनुभएको छ । साथै चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा पनि ‘चीन नेपालसँग संयुक्त राष्ट्रसङ्घ र शाङ्घाई सहयोग सङ्गठनलगायतका बहुपक्षीय मञ्चमा सहकार्य गर्न तयार रहेको उल्लेख छ । विज्ञप्ति अनुसार राष्ट्रपति सीले दुवै पक्षले आपसी रणनीतिक विश्वासलाई बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

तियान्जिनमा हुन लागेको शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा बेइजिङमा उहाँहरुबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाउँदै दुई देशबीचको सहमतीमा आपत्ति समेत जनाउनुभयो ।

जवाफमा राष्ट्रपति सीले लिपुलेक मार्ग परम्परागत रूपमा प्रयोगमा हुँदै आएको नाका भएको तर नेपाल–भारतको सीमा विवादमा चीन कसैको पनि पक्षधर नहुने स्पष्ट पारेको परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा पनि सीसँगको भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भू-भाग नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ ।

चीन र भारतले गएको भदौ तीनमा लिपुलेक क्षेत्रबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको पछिल्लो सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपतिको निमन्त्रणमा प्रधानमन्त्री ओली हिजो चीन जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस